७ लाख ५० हजार धरौटी बुझाउन नसक्दा ललिता निवास प्रकरणका एक आरोपी जेल चलान, अन्य १६ जना रिहा
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो ।

एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो । १७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् ।नापी कार्यालय मैतीदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन् । अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो ।
उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन् । तर,धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए ।

