मुलुक बीपीले अगाडी बढाएको प्रणालीमा अघि बढेको छ : देउवा
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरू हिँडिरहेको बताउंदै यसैबाट मुलुकलाई समृद्ध बनाउने सकिने बताएका छन् ।

आइतबार कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बिपी साहित्य महोत्सव कार्यक्रममा उनले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभई अनुकरण पनि गर्दै आएको दाबी गरे । उनले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताए ।
उनले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको बताए । उनले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गरे ।
सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमानै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताए । उनले नागरिकका कैयौँ अभाव, समस्या, असन्तुष्टि र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुँदै पनि उनको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त बहस र छलफल गराउन नसक्नु आफूहरूको कमजोरी रहेको बताए ।
सभापति देउवाले बिपी राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताए ।सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताए ।
बिपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बिपी जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् ।

