काँग्रेस मुख्यालय सानेपामा आजबाट ‘वीपी साहित्य महोत्सव’ हुँदै
काठमाडौँ।पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले तीने साहित्य महोत्सवको आयोजना गर्ने भएको छ।

नेपाली कांग्रेसको मुख्यालय सानेपामा आजबाट सुरु हुने वीपी साहित्य महोत्सव-२०८० को सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्। वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म महोत्सव’ हुन लागेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले वीपी जन्मजयन्तीका अवसरमा वीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो। तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
कांग्रेसले जननायक वीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष वीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।

