थुलुङ दुधकोशीको पहलमा दुधकोशी वारी तारिए १२ वटा सवारीसाधन , १६ वटाले पारीकै यात्रुलाई सेवा दिने



सोलुखुम्बु।जिल्लाको दुधकोशी पारी सोताङ र महाकुलुङ गाउँपालिकामा मा फसेका दर्जन भन्दा बढी सवारी साधन वारी तार्ने काम सम्पन्न भएको छ।

भदौ ७ र ८ गते परेको निरन्तर बर्षाका कारण आएको बाढीका कारण थुलुङ दुधकोशी र सोताङ जोड्ने दुधकोशी नदीको दिप्लीघाटस्थित बेलिबृजमा क्षती पुर्‍याएपछि पारी नै रोकिएका सवारीसाधन तुइनमार्फत वारी तार्ने काम सम्पन्न भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको सचिवालयले जनाएको छ।

अध्यक्ष राईसहितको टोलि भदौ ११ गते क्षतिको स्थलगत निरीक्षणमा गएका बेला सवारी साधन वारी तार्न बैकल्पिक ब्यबस्था मिलाईदिन आग्रह गरे अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तुइनमार्फत सवारी साधन तार्ने काम गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।

वारी तारिएका सवारीसाधनमा १२ वटा जीप तथा सुमो छन्।प्रबक्ता कार्कीका अनुसार कोशी पारी फसेका २८ सवारी साधनमध्ये १२ वारी तारिएपछि बांँकी रहेका १६ वटाले पारी नै रहेर स्थानीयलाई सेवा दिने प्रबक्ता कार्कीको भनाई छ।

यातायात व्यवसायीको गुनासो र आग्रहलाई तत्काल सम्बोधन गर्न अध्यक्ष राईले कर्मचारीलाई निर्देशन दिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ, इन्जिनियर नगेन्द्र बस्नेत र वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबू किराँती आफैं कार्यस्थलमा खटेर काम गरेको अध्यक्ष राइको सचिवालयले जनाएको छ।

सवारीसाधन कोशी नदी तार्न सफल भएपछि खुसी प्रकट गर्दै यातायात व्यवसायीले गाउँपालिका अध्यक्ष राईसहित सबैलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्