खुकुरी प्रहार हुनुअघि यसो भनेका थिए कांग्रेस सहमहामन्त्री यादवले रिपोर्टस क्लबमा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ ।

बुधबार दिउँसो रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले धारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए ।यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यसअघि रिपोर्टर्स क्लबमा बोल्दै यादवले चीनियां राजदूत छन् सानको अभिव्यक्ति प्रति आपत्ति जनाउनुका साथै कांग्रेस महामन्त्री बालकृष्ण खांड नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष भएको भन्दै उनले सफाई पाउनुपर्ने बताएका थिए।
साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
उनले भने,‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’
उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’
उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’–उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने,‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।’
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उनको टिप्पणी थियो । उनले भने,‘कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।’
उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।’

