एसिया कप क्रिकेट : आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, मेयर बालेनदेखि रबि लामिछानेसम्म श्रीलंकामा



काठमाडौं। एसिया कप क्रिकेटमा सोमबार नेपाली खेलाडीहरुले भारतसंग प्रतिस्पर्धा गर्दैछन्।पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज (सोमबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ।भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।
प्रतिस्पर्धामा नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगर पालिकाका मेयर बालेन साहदेखि रास्वपा अध्यक्ष रबि लामिछाने समेत श्रीलंका पुगेका छन्।

नेपाली टोली पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ अंक बाँडेको थियो। भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंक तालिकाको पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ।

प्रतिक्रिया दिनुहोस्