कोशी प्रदेश सरकारबिरुद्धको रिटमा भोलिदेखि पूर्ण ईजलासमा सुनुवाइ हुने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतबिरुद्ध परेको रिटमा सर्बोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

बिश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको सो रिटमाथि कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। इजलासमा रिटमाथि भोलिदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।
मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएका थिए।
यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।गत शुक्रबार पनि पेसी तोकिएको यो रिट निवेदन न्यायाधीश खतिवडासहितको संयुक्त इजलासमा परेपछि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो ।

