माओवादी केन्द्रको‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरू



काठमाडौं।माओवादी केन्द्रले आजबाट देशभरका ६ हजार ७ सय ४३ वटै वडामा‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरू गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बाट वडास्तरको अभियानको उद्‌घाटन गरेका हुन् । कार्यक्रमको शुरूवात स्वरूप उनले एभोकाडोसहितका फलफूलका बिरुवा रोपेका थिए।

यस अघि केन्द्रीय कमिटी बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सात प्रदेशका सात वटा वडासम्म पुग्ने घोषणा गरेको थियो ।

यसअघि बिहान केन्द्रीय कार्यालयबाट अभियान उद्‍घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जीवनमा अबको बाटो नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।

‘मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन । देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन,’ दाहालले भने ।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिबद्धता जनाए । त्यस्तै, प्रधानमन्त्री दाहालले क्रान्तिदेखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय, पाइला र पल जनताको पक्षमा बितेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्