दिप्लीघाट बेलिबृज तत्काल पुनःनिर्माण गर्न सांसद राईले गराए सरकारको ध्यानाकर्षण
सोलुखुम्बु।प्रतिनिधिसभा सदस्य मानबीर राईले सोलुखुम्बुको थुलुङ दुधकोशी र सोताङ जोड्ने दूधकोशी नदीको दिप्लीघाटस्थित बेलिबृज तत्काल पुनःनिर्माण गर्न आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले चार बर्षअघि सोताङ गाउँपालिकाको पहल र प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको सो बेलिबृज भदौ ७ र ८ गते आएको अविरल बर्षाका कारण क्षतिग्रस्त बन्न पुगेको जानकारी गराउंदै प्रधानमन्त्री आपतकालीन कोषबाट तत्काल पुन:निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
आठ बर्षअघि स्थायी मोटरेबल पुल निर्माणका लागि ठेक्का लागेर काम सुरुवात भएपनि कहिल्यै नबन्ने स्थिति उत्पन्न भएपछि निर्माण गरिएको सो बेलिबृजमा क्षति पुग्दा सोताङ र महाकुलुङको बासिन्दामात्र प्रभावित नभएर पर्यटकीय स्थल मेरापिक क्षेत्र तथा पांचपोखरी धार्मिक क्षेत्रमा पुग्न आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत समस्या भएको उनले बताए।
सांसद राईले सगरमाथा क्षेत्र प्रवेश गर्ने दुधकोशी नदीकै ओर्लाङघाट वारीपारी पनि पहिरोले क्षति पुर्याएको जानकारी गराएका थिए।उनले दुउइदुई वटा राष्ट्रिय निकुञ्ज भएका कारण आसपासका क्षेत्रहरूमा जंगली जनावरको प्रकोपका कारण खाद्द्बालीमा क्षति पुग्ने गरेको बताउंदै किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरे।

