लुटतन्त्र अन्त्यका लागि अब जनता सडकमा आउनुको विकल्प छैन : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मौलिक संस्करणको राजा सहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने बताएका छन्।

आगामी भाद्र २९ गते पार्टीले बृहत् विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्द थापाले सो कुरा बताएका हुन्।राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण,आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको तर्क थियो ।
सीमित दलका सीमित नेताहरूको सेटिङ्गमा राज्य व्यवस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा विदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरूकै भूमिका रहेको बताए । मुलुकमा ब्याप्त लुटतन्त्र अन्त्यका लागि अब जनता सडकमा आउनुको विकल्प नरहेको उनको भनाइ छ।
मुलुकको गौरवशाली इतिहास ,धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरूक हुनुपर्नेमा जोड दिँदै थापाले भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए।
बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले शुरु गर्ने आन्दोलनमा सबैको समर्थन र सहभागिता हुनुपर्नेमा जोड दिए । बैठकले विरोध प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिति, उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा जनपरिचालन समिति , सुनिता कुरुङ्गवाङको संयोजकत्वमा प्रचार (प्रसार समिति र नगेन्द्र देउजाको संयोजकत्वमा स्वयंसेवक समिति गठन गरेको छ।file foto

