सरकार र सत्तारुढ गठबन्धन आफैं जातीय सद्भाव बिथोल्न लागिरहेको आरोप



काठमाडौं।राष्ट्रियसभामा एमाले सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्न सरकार र सत्तारुढ गठबन्धन संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै न्यौपानेल सत्ता गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको आरोप लगाइन् । तत्काल त्यस्ता गतिविधि नियन्त्रण गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

‘आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्ने गरी गतिविधिहरू भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ,’ न्यौपानेले भनिन्, ‘जातीय सद्भाव कायम गर्नभन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरू आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरू भइराखेका छन् ।’

बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भए पनि त्यसमा खलल पुर्‍याउने काम सत्ता गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको उनको भनाइ छ । जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्