भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान औपचारिकतामा सिमित गरिएको भन्दै नागरिक आन्दोलनको प्रदर्शन



काठमाडौँ । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान औपचारिकतामा सिमित भएको भन्दै बृहत नागरिक आन्दोलनले काठमाडौमा प्रदर्शन गरेको छ ।’एउटै मान्छे,दुई थरी कानुन किन?’ ‘घुम्ने मेचमाथि सुनको मान्छे’ ‘तस्करीले देश बन्दैन’भन्ने खालका प्लेकार्ड सहित आन्दोलनले शनिबार भद्रकालीमा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा ललिता निवास,नक्कली शरणार्थी र सुन तस्करी प्रकरणमा अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै नागरिक अगुवाहरूले खबरदारी समेत गरेका थिए। यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्