धरान आवतजावतमा कडाई,पांँच हजार बढी सुरक्षाकर्मी परिचालित
इटहरी।आपसी सद्भाव भड्कन नदिन सुनसरीको धरानमा प्रशासनले व्यापक कडाइ गरेको छ।

आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाइगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक गरेपछि आक्रोशित हिन्दू समुदायले आज र्याली निकाल्ने कार्यक्रम तय गरेपछि आज निषेधाज्ञा जारी गरेको प्रशासनले आवतजावतमा समेत कडाइ गरेको हो।हिन्दुहरुले धरानमा प्रदर्शन गरेपछि पहिचान पक्षधरले प्रतिकार गर्ने धम्की दिएपछि व्यापक रूपमा प्रहरी परिचालन गरिएको सुनसरी प्रशासनले जनाएको छ।
धरानमा ५ हजारभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरीले घेरा बन्दी गरी सुरक्षा चेक जाँचलाई प्रभावकारी बनाएको छ। प्रहरीको सक्रियताका कारण धरानमा यातायातका साधन सञ्चालन भएको छैन भने पसलहरु पनि बन्द छ्न्।
प्रशासनले शुक्रबार रातिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो । धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं. बाट बराहक्षेत्र वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।
त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ।
धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पुर्व मेयरहरु, नागरिक अगुवाहरुले सबैलाई संयम अपनाउन अपिल गरेका छन्।
उनीहरूले धार्मिक र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेका छन्।

