व्यक्तिका जग्गामा प्रवेश नगर्न साम्पाङलाई उच्च अदालतको आदेश
विराटनगर । उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।
धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए ।
अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो ।

