भदौरे झरीका कारण बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं।आज पनि मुलुकका अधिकांश ठाउँमा झरी परेको छ ।

अस्तिदेखिको निरन्तर वर्षाका कारण बाढी र पहिरोले ६ वटा सडकखण्ड अवरुद्ध भएको छ । तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर–चामे सडकखण्ड र सिद्धार्थ राजमार्गमा पनि सवारी आवगमन अवरुद्ध भएको विभागले जनाएको छ । अवरुद्ध भएका सबै सडकखण्ड खुलाउने प्रयास भइरहेको विभागको भनाइ छ ।
वर्षा र पहिरोले ४५ वटा सडकखण्ड एकफर्ती मात्रै सञ्चालनमा रहेको विभागले बताएको छ । मनसुन सक्रिय हुँदा बाढी र पहिरो जाने क्रम बढेको छ ।
मौसमविद् वरुण पौडेल अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर मनसुन सक्रिय भएको छ । यसले गर्दा लगातारजसो झरी परिरहेको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ, लगातार झरी पर्ने छैन । पानी परे पनि केहीबेर परेर रोकिने छ ।

