कोशी प्रदेशमा सांसदहरुको भागाभाग ,प्रदेश सभा बैठक अनिश्चित
काठमाडौं। आज बस्ने भनिएको कोशी प्रदेश सभा बैठक अनिश्चित बन्दै गएको छ।उपसभामुखसहित आधा दर्जन बढी सांसदहरुले उपस्थित हुन नसक्ने भन्दै प्रदेश संसद सचिवालयलाई सुचित गरेपछि आज बस्ने भनिएको प्रदेश सभा बैठक अनिश्चित बनेको हो।आज प्रदेश मुख्यमन्त्री उद्दब थापाले बिश्वासको मत लिने कार्यसूची थियो।

थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएसंगै प्रदेश सभा उपसभामुखको नेतृत्वमा छ।उप सभामुख सहित बिपक्षी नेकपा एमालेका ज्येष्ठ सदस्यहरु उपस्थित भएर बैठकको अध्यक्षता गर्दा मुख्यमन्त्री थापाले बिश्वासको मत प्राप्त गर्ने भएका कारण अहिले बिपक्षी सांसदहरुले आफुहरु बैठकमा उपस्थित हुन नसक्ने जानकारी सचिवालयलाई गराएका हुन।
यसो गर्दा बैठकको अध्यक्षता सत्तापक्षीय सांसदले गर्नुपर्ने र त्यसो गर्दा मुख्यमन्त्रीको पक्षमा ४६ मतमात्रै प्राप्त हुने देखिन्छ।बिश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक छ।४६ मतमात्रै प्राप्त हुंदा मुख्यमन्त्री थापाको पद धरापमा पर्ने र संबैधानिक ब्यबस्था अन्तर्गत प्रदेशसभाको सबै भन्दा ठुलो दल नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ।
सभामुख र उपसभामुख दुबै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ।
एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्।
एमाले सांसदहरू रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका थिए।

