भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने गणतन्त्रको अन्त्य गर्नु जरुरी : थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य गर्नु जरुरी भएको बताएका छन्।

पार्टीको काठमाडौँ महानगर समितिद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन्। विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी प्रमुख दलहरूले राज्य संयन्त्रमा कब्जा जमाएको थापाको भनाई थियो।उनले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन तस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तीव्र रोष प्रकट गरेका हुन् ।
। राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित हैन, जनता केन्द्रित भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सङ्कल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे ।मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महँगीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे ।

