सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ



काठमाडौं।६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान
गरिरहेको प्रहरीले थप चार चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई छन् । पक्राउ परेकामध्ये मी महिला र अन्य तीन पुरुष हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सुन प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ परेको बताए । ‘सुन तस्करी अनुसन्धानका क्रममा थप चार चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूविरुद्ध पाँच दिनको म्याद थप भएको छ । घटनामा उनीहरूको संलग्नता रहेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धान जारी छ,’ उनले भने ।

सिआइबीले सात दिनयता चप्पल कारखाना, सुकेधारा, सामाखुसी, बाँसबारी र बौद्धमा अवैध रूपमा खोलिएका सुनका गोदाम फेला पारेको थियो । गोदामबाट सिआइबीले सुन जोख्ने तराजु, गाल्ने मेसिनलगायतका सामग्री बरामद गरेको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ पर्ने हालसम्म २२ पुगेका छन् । जसमध्ये दुई चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई घटनामा संलग्नता नदेखिएको भन्दै छाडेको छ । स्वास्थ्यको कारण देखाउँदै पक्राउ परेकी रुक्मिना सुब्बालाई पनि हिरासतमुक्त गरिएको छ । बाँकी अभियुक्त भने हिरासतमै छन् ।

हिरासतमा अभियुक्त भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, राजन श्रेष्ठ रहेका छन् । त्यस्तै, भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोचष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र सुरेन्द्र तामाङ पनि हिरासतमा छन् । त्यस्तै, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ पनि हिरासतमै छन् ।

उनीहरूविरुद्ध अहिले अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको छ । राजस्व अनुसन्धान विभागले गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेको थियो । विभागले ट्याक्सीचालक अशोक लामा र रेडी ट्रेडका सञ्चालक दिलीप भुजेललाई घटनास्थलबाट पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा विभागले थप १६ अभियुक्तलाई पक्राउ गरेको थियो । अनुसन्धानको १९ दिनपछि विभागले पक्राउ परेका अभियुक्तसहित घटनासँग सम्बन्धित सम्पूर्ण कागजात तथा दसी–प्रमाण सिआइबीलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्