शिक्षक महासंघको जारी आन्दोलनप्रति एमाले सोलुखुम्बुको ऐक्यबद्दता



सोलुखुम्बु। नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति नेकपा एमाले सोलुखुम्बुले ऐक्यवद्धता जाहेर गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भई स्वीकृतिका लागि प्रतिनिधि सभामा पेश हुन लागेको संघीय शिक्षा ऐन-२०८० विरुद्ध महासंघले चरणबद्द आन्दोलन सुरु गरेको तेस्रो दिन नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले एक बिज्ञप्ति जारी गर्दै मंगलबार ऐक्यबद्धता जाहेर गरेका हुन्।

२०७५ सालमा शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएको ३० र ११ बुँदे सहमति प्रतावित ऐनको मस्यौदामा नसमेटिनु दुःखको विषय भएको उल्लेख गर्दै बिज्ञप्तिमा संघीयताको कार्यान्वयन पछि तीन तहको सरकार र यसको अधिकार क्षेत्रलाई अझ प्रष्ट पार्दै अधिकारको कार्यान्वयनको क्रममा देखापरेका कैयन समस्याहरुको सहजीकरण एबम् शिक्षक/ शिक्षकवीचको बिभेद ( राहत, स्वयसेवक), अन्त विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको न्यायोचित मागलाई समेत सम्वोधन हुने गरी संघीय शिक्षा ऐन आउनुपर्ने आवश्यकता औंल्याइएको छ।

‘शिक्षा सम्बन्धी सबै पेशागत संघ संगठनसँग गरिएको सहमति, हालसम्मको अनुभब तथा सिकाईलाई दस्तावेजीकरण गर्ने, आत्मनिर्भर र रोजगारमूलक जनशक्ति उत्पादन गर्ने वातावरण निर्माण गर्ने खालको संघीय शिक्षा ऐन ल्याउन आवश्यक छ’,- एमाले अध्यक्ष बास्तोलाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

प्रस्तावित संघीय शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघ साउन २८ गतेदेखि चरणबद्द आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्