क्वीन्टल भनिएको सुन करिब ६१ केजी मात्रै !
काठमाडौँ।अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेपछि सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभागको टोलिले पक्राउ गरेको तस्करीको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।

झन्डै सय केजी हाराहारीको अनुमान गरिएको ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन गालेर जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।
असार २९ गते ल्याएको सो सुन १ सय ६० वटा ब्रेक सु मा
लुकाइएको अवस्थामा बरामद भएको थियो। सुरुमा २ जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ ।
यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

