सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकसहित तीन जना रिहा



काठमाडौं।सय किलो सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिकसहित ३ जना रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली गैलिन र लिओ लिउ फुयान रिहा भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरूलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले छोडिएको उनले बताए । शुक्रवार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो ।

शुक्रबार नै अध्यागमन विभागले नियन्त्रणमा लिएका व्यापारी रोहन अडुकियालाई पनि रिहा भएको बताइएको छ। ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका उनलाई बोलाउनासाथ हाजिर हुने सर्तमा रिहा गरिएको श्रोतको दावी छ।

शुक्रबार दिउँसो दिल्लीबाट एयर इन्डिगो विमानमार्फत काठमाडौं आएका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले नियन्त्रणमा लिएको थियो। अवैध सुन कारोबारमा अडुकिया बाबुछोरा नै संलग्न रहेको आशंका राजस्व अनुसन्धान विभागको छ।

प्रतिक्रिया दिनुहोस्