कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतको चर्को आलोचना
काठमाडौं।नेपाली कांग्रेसका सांसदहरुले पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका छन्।

शुक्रवार सुरु संसदीय दलको बैठकमा अर्थमन्त्री महतले बजेट सबै क्षेत्रमा विनियोजन नगरेको र सांसदहरूलाई भेट्ने समय पनि नदिएको आरोप लगाउंदै बजेट बनाउँदा विभेदपूर्ण तरिकाले बनाएको भन्दै सांसदहरूले आलोचना गरेका हुन्।बजेट ल्याएपछि संसदीय दल बैठक बसेको थिएन। साउन २ देखि १० सम्म चलेको केन्द्रीय समिति बैठकमा पनि अर्थमन्त्रीको आलोचना भएको थियो।
संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने विषय, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता ७ वटा एजेन्डा तोकिएको बैठकमा सांसद सुनिल शर्मा पक्राउ परेको बिषयले निकै प्राथमिकता पाएको छ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बिहीबार निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो। शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोग छ।
सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए।‘सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आशका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।
अर्का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सांसद शर्मामाथि लगाइएको अभियोग यसअघि नै टुंगिइसकेको विषय भएको दाबी गरे।
‘सांसद शर्मामाथि पहिले पनि शैक्षिक प्रमाण पत्रका विषयमा छानबिन भएको थियो, त्यसैबेला यो सुल्झिइसकेको विषय हो, अहिले फेरि किन पक्राउ गरिएको हो?,’ कार्कीले प्रश्न गरे।
सांसद उदयशम्शेर राणाले पार्टीका एकपछि अर्का नेतामाथि सरकारले अभियोग लगाएको बताएका छन्।‘हाम्रो पार्टी नै सरकारमा छ, तर हाम्रा नेताहरू बालकृष्ण खाण, विजयकुमार गच्छदार र सुनिल शर्मामाथि सरकारले किन टार्गेट गरिरहेको छ?,’ उनले प्रश्न गरे, ‘ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाललाई किन विदेश जान दिइयो?, बयान किन लिइएन?’
सांसद सरिता प्रसाईंले सरकार पूर्वाग्रहीजस्तो देखिएको बताएकी छन्।‘हाम्रा नेताहरूमाथि सरकारले विभिन्न अभियोग लगाइरहेको छ, के माओवादीका नेताहरू चोखा छन्? उनीहरूका पनि विभिन्न प्रकरणमा नाम आएका छन्, सरकारले उनीहरूमाथि किन छानबिन गरेन?’ उनले भनिन्, ‘यसबारे प्रधानमन्त्रीसँगै नेतृत्वले जवाफ माग्नुपर्छ।’

