फेरि अवरुद्ध भयो प्रतिनिधिसभा, उच्चस्तरीय छानबिन समिति नबनेसम्म एमालेले चल्न नदिने
काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध गरेको छ।

मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरूले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराएका थिए ।
गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ ।
त्यसअघि सदनमा सुन प्रकरणका बारेमा जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राज्यले गर्ने अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका थिए।सुन सम्बन्धमा सीआइबीलाई नै छानबिनको अवसर दिइएको भन्दै ३५ दिनको समयमा सीआइबीले नसके नयाँ सिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने उनको भनाइ थियो।
गृहमन्त्रीको जवाफलगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताए। एमालेको अवरोधपछि प्रतिनिधिसभाको अर्को बैठक यही साउन २४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

