कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न,अर्को बैठक असोज २ गतेका लागि आव्हान
काठमाडौँ।कांग्रेस केन्द्रीय समितिको ७ दिनसम्म चलेको बैठक सकिन नपाउँदै सभापति शेरबहादुर देउवाले असोज २ गतेका लागि अर्को बैठक तोकिएको घोषणा गरेका छन्।

कांग्रेस महाधिवेशन सकिएको डेढ वर्षपछि बसेको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकको समापन गर्दै सभापति देउवाले बिधानत: २ महिनामै अर्को बैठकको तिथि निर्धारण गरेका हुन्।
करिब एक वर्षपछि बसेको बैठकमा धेरै आलोचना होला भन्ने सोचेका देउवाले अपेक्षा अनुसार नभएपछि नियमित बैठक राख्ने बताए।
सोचे अनुसार आलोचना नआएको कुरा सभापति देउवा स्वयंले पनि स्वीकार गरेका थिए।त्यस्तै, कांग्रेसले मंसिरमा महासमिति बैठक गर्ने निर्णय पनि गरेको छ।
गत मंगलबारबाट सुरु भएर बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कालोमोसो दल्ने नेता कार्यकर्ताको सदस्यता स्वतः खारेज हुने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा भएको बैठकले अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो।
त्यस्ता व्यवहारले कांग्रेस पार्टीको आलोचना र बदनाम भएको भन्दै बैठकमा त्यस्ता सदस्यहरूलाई बर्खास्त गर्ने माग उठेको थियो।
त्यस्तै बैठकले सामाजिक सञ्जालमामा पार्टी र नेतृत्वविरुद्ध टिप्पणी गर्नेहरूलाई पनि कारबाही गर्ने निर्णय गरेको छ। त्यस्ता पोस्टहरू साझा गर्नेहरूसमेत कारबाहीको भागिदार बन्ने निर्णयमा भनिएको छ।
उता, निर्बाचनमा बागी उम्मेदवार बनेर जितेका नेता कार्यकर्तालाई गरिएको कारबाही फिर्ता लिने निर्णय पनि बैठकले गरेको नेपाली कांग्रेसले जनाएको छ।

