ललिता निवास जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या २२ पुग्यो
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । आइतबार मात्रै सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको आरोपमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ प्रकाउ परेका थिए । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

