सुन तस्करी प्रकरण : नौ जना पक्राउ, ७ जनामाथि अनुसन्धान गर्न १० दिन म्याद थप



काठमाडौं।राजश्व अनुसन्धान विभागको टोलीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

योसँगै पक्राउ पर्नेको संख्या ९ पुगेको छ।बुधबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी गरेको खुलेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर निस्किएको सुन ट्याक्सीमा चढिसकेपछि विभागको टोलीले ६ जनालाई पक्राउ गरेको थियो।बुधबार ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका थिए।बिहिवार नै बिभागले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्