कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै, यस्ता छन् एजेन्डा
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज मंगलबारबाट सुरु हुने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज पहिलोपटक बैठक बस्न लागेको हो ।

यसअघि गत बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको थियो । कांग्रेस पार्टीले मंगलबारदेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेण्डा तय गरिएको जानकारी दिएका हुन् ।
यस्तो छ कांग्रेस केन्द्रीय समिति बैठकको एजेण्डा
१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।

