ललिता निवास प्रकरणका चार आरोपीलाई आज अदालत पेश गरिंदै
काठमाडौं।ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणबाट धरौटीमा रिहा हुनुपर्ने माग गरेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित ४ जनालाई सोमबार पुनः अदालतमा पेस गरिने भएकाे छ।

आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेस गर्न आदेश दिइएको हो। आइतबार पनि सर्वोच्च अदालतमा तथ्यभित्र प्रवेश भएर बहस नभएपछि अर्को मिति तोक्ने आदेश गर्ने भन्दै इजलास उठेको थियो। आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश दिएको थियाे। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो।
सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए।

