गुट उपगुट भन्दा माथि उठेर कांग्रेस बलियो बनाउन लाग्नुपर्छ : सभापति शेर्पा
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले गुट उपगुट भन्दा माथि उठेर नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताएका छन्।

सोलुखुम्बुबाट नेपाल तरुण दलको केन्द्रीय समितिमा हालै मनोनीत सदस्यहरुको सम्मानमा नेपाल शिक्षक संघ सोलुखुम्बुद्वारा सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहेका सभापति शेर्पाले सो कुरा बताएका हुन।पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने महत्वपूर्ण जिम्मेवारी युवाको कांधमा आएको बताउंदै उनले सशक्त कांग्रेस निर्माणमा जुट्न सबैलाई आग्रह गरे।

नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत नवीन थापा र अस्विनबाबु थापालाई बधाई सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।थापाद्व्य,पुष्कर बास्तोला र अशोक झा गरी चार जना तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।जिल्ला बाहिर रहेका कारण बास्तोला र झा भने सम्मान कार्यक्रममा सहभागी भएका थिएनन्।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, नेपाली कांग्रेसका उपसभापति फुदोर्जी शेर्पा,नेविसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत लगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित ब्यक्तितब तरुण दलका केन्द्रीय सदस्य थापाद्वयले तरुण दललाई बैचारिक संगठनका रूपमा अघि बढाउंदै युवाहरुलाई एकताबद्द गरेर अघि बढ्ने बताएका थिए।

