डेंगी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो अभियान



काठमाडौं।डेंगी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।

नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी रोग फैलिन सक्ने भन्दै महानगरपालिकाले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न सरोकार भएको निकायहरूको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागिएको कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त कार्य नगर प्रहरीमार्फत टोल–टोलमा डेंगीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचार प्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुतप्रतिकार्य टोलीसमेत परिचालन गर्ने प्रमुख पौडेलले बताए ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ-आफ्नो टोल–टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कसप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्