कोशी प्रदेश सरकार गठन पूर्णत असंवैधानिक : एमाले



विराटनगर ।नव गठित कोशी प्रदेश सरकार पूर्णतः असंवैधानिक भएको भन्दै नेकपा एमालेले कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको छ।

प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सो प्रतिक्रिया दिएका हुन्।

‘उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नु पूर्णतः असंवैधानिक छ । यो प्रक्रिया असंवैधानिक तरिकाबाट भएको छ’, उनले भने, असंवैधानिक सरकार गठनका विषयमा कानूनी उपचार खोज्छौं । यसका लागि सरसल्लाह भइरहेको छ ।’

बहुमत सिद्ध गरेर गठबन्धनले बुझाएको पत्रमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर रहेको छ ।

संसदीय दलको नेताले सभामुखसहित सरकार गठनमा दाबी पेस गर्ने विषय गैरकानूनी हुने संविधानविद्हरूले बताउँदै आएका थिए । संविधानविद् भीर्माजुन आचार्यले सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको बताएका छन् ।

उनले ट्वीट् गर्दै भनेका छन्, ‘यस्तो कार्य असंसदीय र असंवैधानिक छ । सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ । कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसदको अवहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नुभन्दा प्रदेश सरकार नै नरहनु ठीक ।’

उनले कोशी प्रदेशका प्रदेश प्रमुखमाथि पनि कानूनी र संवैधानिक प्रश्न उठेको बताए । नेपाल प्रेससँग कुरा गर्दै आचार्यले भने, ‘प्रदेश प्रमुखको काम भनेको संविधानको पालना र संरक्षण गराउनु हो । कोशी प्रदेश प्रमुखले दुवै काम गर्न सकेनन् ।’

प्रतिक्रिया दिनुहोस्