सभामुखले सरकार गठन/विघटनका लागि हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा बिपरित : कोइराला
काठमाडौं।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गर्नु संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुने टिप्पणी गरेका छन्।

कोशी प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धनले प्रदेश सभामुखको समर्थन सहित बहुमत सिद्ध गर्न खोजी रहेका बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।
बिहिवार सामाजिक सञ्जालमा लेख्दै कोइरालाले सभामुखको संबैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु भएको स्मरण समेत गराएका छन् ।
संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक सभामुखले कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको बिपरित हुन जाने कोइरालाको भनाई छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,- प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ।प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संबैधानिक ब्याख्या छैन। तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ। सभामुखको संबैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो। यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको बिपरित हुन जान्छ।

