मौसम पूर्बानुमान महाशाखाले गर्‍यो यी ३५ जिल्लामा बाढी आउन सक्ने अनुमान



काठमाडौं।मनसुन देशभर फेलिएसँगै आजबाट सुरु भएको वर्षा लगातार तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम पनि बढेको छ । पूर्वानुमान महाशाखाले काठमाडौंसहित देशका ३५ भन्दा बढी जिल्ला भई बहने खोला, नदीमा बाढी आउने सम्भावना देखिएको जनाएको छ ।

विभागको बुलेटिनअनुसार आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बहावको जोखिम रहने सम्भावना छ।

यस्तै संखुवासभा, ओखलढुंगा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने अनुमान रहेको महाशाखाले जनाएको छ।

माथि उल्लेखित जिल्लामा बाढीको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।(सांकेतिक फोटो)

प्रतिक्रिया दिनुहोस्