एकीकृत समाजबादीपछि जसपाले पनि गर्यो बजेट पास गर्न नदिने निर्णय
काठमाडौं।जनता समाजवादी पार्टीले सरकारले ल्याएको बजेट यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले बजेट पास गर्न नदिने निर्णय गरेको हो।

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले बजेट समावेशी नभएको भन्दै संसदीय दलको बैठकले पास गर्न दिने निर्णय गरेको बताए। उनले अहिलेको बजेट नेतामुखी भएको बताए।’सरकारले ल्याएको बजेट समावेशी र सन्तुलित छैन। यो बजेट नेतामुखी भयो। यसले अर्थतन्त्रलाई उकास्दैन,’ उनले भने।
उनले अर्थतन्त्रमा मन्दी छाएको सरकारले बताइरहे पनि अर्थतन्त्र सुधारका लागि बजेटमा गुरुयोजना नदेखिएको उनको भनाइ छ। ‘अर्थतन्त्रमा समस्या छ भनिरहेका छौं। तर अर्थतन्त्र सुधारका निम्ति बजेटमा केही गुरुयोजना देखिएन,’ उनले भने।
उनले प्रदेशमा दिइएको अनुदान बजेटमा पनि भेदभाव गरिएको बताए। उनले सरकारको नीति तथा कार्यक्रममा मधेस पछाडि परेको उल्लेख गरे पनि त्यस सम्बन्धमा कुनै बजेट नआएको बताए। ‘सरकार आफैंले मधेस पछाडि पर्यो भन्ने तर धेरै जनघनत्व भएको मधेसमा न्युन बजेट दिने, यो त असमावेशी र भेदभावको पराकाष्ठा भएन र?,’ उनले प्रश्न गरे।
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो।

