पोखरा विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडान गर्ने कम्पनी बन्यो सिचुवान एयरलायन्स
पोखरा।पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ ।

छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो ।सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए ।
उक्त जहाजबाट चीन भ्रमणमा गएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन् ।
पहिलो अन्तरराष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए ।उक्त जहाजबाट पोखरा आएका चिनियाँ सरकारी अधिकारी, खेलाडी र पर्यटक सहितको टोलीको स्वागतार्थ सङ्क्षिप्त समारोह आयोजना गरिएको थियो ।
उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कने जनाइएको छ ।पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ।अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित उक्त विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएको थियो ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।

