थुलुङ दुधकोशीका किसानलाई राहत,वडाले खरिद गरेर काठमाडौं पठायो आलु



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा उत्पादित आलु बिहिवारबाट काठमाडौंमा बिक्रि बितरण गरिने भएको छ।

गाउँपालिकाको वडा नम्बर २ का किसानहरुले लगाएको आलु अत्यधिक उत्पादन भएपछि बिक्रि बितरणका लागि गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत काठमाडौ पठाईएको वडाध्यक्ष युजन बस्नेतले जानकारी दिए। गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर बुधबार काठमाडौ पठाएको वडाअध्यक्ष बस्नेतको भनाई छ ।

पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने बताउंदै वडाध्यक्ष बस्नेतले काठमाडौंमा रहेका थुलुङ दुधकोशीवासीलाई नै प्राथमिकताका साथ सुलभ मूल्यमा उपलब्ध गराउने योजना रहेको बताए।

वडा कार्यालयले किसानबाट पाथीको एक सय रुपैयाँका दरले आलु खरिद गरेको उनले जानकारी दिए।अहिले अर्डर आए जतिमात्रै काठमाडौं पठाएका छौं,वडाध्यक्ष बस्नेतले भने-थप अर्डर आए त्यसै अनुसार ब्यबस्था गर्नेछौं।वडाले खरिद गरेर बढी भएका आलु बिक्री बितरणको ब्यबस्था गर्दा आफुहरुले राहत मिलेको स्थानीय किसानहरुको प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस्