विद्यालय सुधारका लागि व्यवस्थापन समिति र शिअ संघको भूमिका महत्त्वपूर्ण : अध्यक्ष राई
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।रीड नेपाल र नेचासल्यान गाउँपालिकाको संयुक्त आयोजनामा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ पदाधिकारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

नेचाको हिमाल दर्शन माविमा सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष धनजन राईले गर्नुभयो। कार्यक्रममा अध्यक्ष राईले विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ संघलाई तालिम आवश्यक भएको महसुस गरी कार्यक्रमको आयोजना गरिएको बताउदै सक्रियताका साथ तालिममा भाग लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा हिमाल दर्शन मावि का प्रधानाध्यापक अशोक कुमार शर्माले विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ संघ सक्रिय हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विव्यस, शिअ संघ, प्रअ, शिक्षक तथा अभिभावक विद्यार्थी सबैको आ आफ्नो महत्त्वपूर्ण जिम्मेवारी तथा भूमिका हुने हुँदा तालिमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार , बालमैत्री विद्यालयको अबधारणा , नेतृत्व विकास, विद्यालयको वर्तमान अवस्थाको विश्लेषण, सुधार गर्नु पर्ने कुराहरू लगायतका विषयवस्तु समावेश गरिने रीड नेपालले जनाएको छ ।
तालिममा पालिका भित्रका ५० जना विव्यस अध्यक्ष र शिअ संघ अध्यक्ष तथा महिला प्रतिनिधि सदस्यहरुको उपस्तिथि रहेको छ । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी र शिक्षा विकास अधिकृत सुजता राईले गरिरहनु भएको छ !

