काठमाडौं महानगरपालिकाले भोलिदेखी कुनैपनि भारतीय फिल्म चल्न नदिने



काठमाडौं।काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमाहरूमा कुनै पनि भारतीय फिल्मको प्रदर्शन हुन नदिने भएको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन शाहले दिएको तीन दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी थालेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई नेपालमामात्रै नभई भारतमासमेत सच्याउन तीन दिनको अल्टिमेटम दिएका थिए।अल्टिमेटमको समय सकिनै लाग्दा आईतवार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले भनेका छन्-भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेका थियौ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्