मुक्लीमा निर्मित प्रहरी चौकी भवनको उद्घाटन
दिप खालिङ,सोलुखुम्बु/थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं-६ मुक्लीमा निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न बिशेष कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले सो भवनको उद्घाटन गरेका हुन्।नवनिर्मित ६ कोठे उक्त भवन पुष्पाञ्जली पीएस जेभिले १ करोड ६६ लाख ३८ हजार ५ सय ६० रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको जानकारी कार्यक्रममा गराईएको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी बास्तोलाले भवन निर्माणमा देखाएको सक्रियता र योगदानका लागि गाउँपालिका अध्यक्ष राईको प्रशंसा गरेका थिए।उनले स्थापना कालदेखि नै नेपाल प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न मह्त्वपूर्ण भूमिका निर्बाह गर्दै आएको स्मरण गर्दै कर्तव्य पालनामा कुनै किसिमको कसर बांकी नराख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए। कुनै प्रहरी अनियमितता र कर्तब्य पालनामा बिचलित भएको पाईए उपल्लो तहमा तुरुन्त जानकारी पनि उनले सर्बसाधारणलाई आग्रह गरेका थिए।
कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईले आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीले निर्बाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउंदै आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताएका थिए।
उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, अरिदमन गण सल्लेरीका प्रमुख सेनानी कुलदिप कुवँर, शसस्त्र प्रहरी बलका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र खनाल,जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारी,गाउँपालिका उपाध्यक्ष सबिता राई लगायत पत्रकार, स्थानियवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
डिआइजी बास्तोलाले बिहिवार सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशीमा रहेको नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरेका थिए। नवनिर्मित भवन विक्रम संवत २०७३ साल चैत्र २१ गते सम्झौता भएको भवन राष्टिय पुन निर्माण प्राधिकरणको १ करोड ७९ लाख ३३ हजार ६ रुपैयाँ लागतमा निर्माण गरिएको बताईएको छ।
जुनबेशींमा प्रहरी चौकी उद्घाटन गर्दै डिआईजी बास्तोला

