बालेनको चेतावनीपछि निर्माताले हटाए ‘आदिपुरुष’ को विवादास्पद संवाद



काठमाडौं।दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन्। ‘सीता भारतकी छोरी’ भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौँमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

आदिपुरुषलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौँ उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन्।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरे । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिको कारण काठमाडौँ उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।

बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने व्यवस्था हलहरूले गरेका छन् । यहीबीच चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाहको अभिव्यक्ति र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

मेयर बालेनले बिहीबार साँझ आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौँमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । तीन दिनभित्र उक्त शब्द नसच्चिए काठमाडौँमा कुनै पनि हिन्दी फिल्म चल्न पाउने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्