उजुरीकर्ताको बिरोधकाबीच आज कामु प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ हुंंदै
काठमाडौं।
संसदीय सुनवाई समितिले न्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनीविरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले संसदीय समितिको वैधानिकतामा प्रश्न उठाउँदै समिति बहिष्कार गरेका थिए ।
संसदीय सुनुवाइ समितिले बुधबार उजुरीकर्ताहरूलाई उजुरीबारे प्रस्टीकरणका लागि समितिमा बोलाएको थियो । एक–एक गरी समिति बैठकमा गएर आफ्नो उजुरीबारे स्पष्ट पार्ने कार्यतालिका समितिले बनाएको थियो । तर, उजुरीकर्ताले त्यसलाई अस्वीकार गर्दै समितिको वैधानिकतमा प्रश्न उठाएका थिए ।

