कोशी प्रदेश : बार्ताका लागि सरकारी टोलीले पठायो आन्दोलनरत पक्षलाई औपचारिक पत्र



विराटनगर।कोशी प्रदेश सरकारद्वारा गठित बार्ता समितिले नामकरणबिरुद्ध आन्दोलनरत समूहलाई बार्ताका लागि औपचारिक पत्र पठाएको छ।

सरकारी बार्ता समितिको आइतबार बसेको बैठकको निर्णय अनुसार आन्दोलनरत प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र लेख्दै वार्ताका लागि आह्वान गरिएको बार्ता समितिका सदस्य तथा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिए।

आन्दोलनरत पक्षलाई पठाईएको पत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत सुवास श्रेष्ठले हस्ताक्षर गरेका छन्। पत्रमा कोशी प्रदेश नामकरण भएपछि नामकरणका विषयमा असन्तुष्टि र विरोधका घटना हुँदै आएको र असन्तुष्ट पक्षहरूसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि सरकारले वार्ता समिति गठन गरेको उल्लेख गरिएको छ ।

‘वार्ता टोलीको मिति २०८०/०२/२९ गते बसेको बैठकबाट आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता एवं संवाद गर्ने निर्णय भए अनुसार वार्ताको लागि आह्वान गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तुष्टसँग वार्ता गर्न भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बुको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको बार्ता टोलि गठन गरेको थियो।

बार्ता टोलि गठन हुनु अघि कोशी प्रदेश सरकारले पनि आन्दोलनरत पक्षलाई बार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको थियो।आन्दोलनरत पक्षले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने बताउंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्