राष्ट्रपति पौडेलसमक्ष पाकिस्तानी राजदूत हास्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश



काठमाडौं।नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका नवनियुक्त राजदूत अबरार एच हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।सोमबार शितल निबासमा आयोजित बिशेष समारोहमा राजदूत हाश्मीले आफ्नो ओहोदाको पत्र पेश गर्नुभएको हो।

सो क्रममा राजदूत हाश्मीले इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफका साथै पाकिस्तानी जनताबाट व्यक्तिगत रूपमा बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै नेपालका राष्ट्रपतिको स्वास्थ्यलाभ र नेपाल मित्रजनको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको थियो।

राष्ट्रपतिले नेपालका लागि पाकिस्तानका राजदूतका रूपमा महामहिम अबरार एच हाश्मीलाई स्वागत र बधाई दिनुभयो। वहाँले नेपाल र पाकिस्तानका जनताबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालस्थित राजदूतलाई नेपाल सरकारको पूर्ण सहयोगको आश्वासन पनि दिनुभयो ।

राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सद्भाव, आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले दुवै देशले द्विपक्षीय संयन्त्र र उच्चस्तरीय सम्पर्कलाई पुनरुत्थान गर्नुपर्ने बताए । उनले दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य रहेको बताउँदै नेपालले सार्कलाई उच्च महत्व दिएको र सार्क प्रक्रियालाई पुनः सक्रिय गर्नमा आशावादी रहेको बताए ।

राजदूत हाश्मीले पाकिस्तानका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई यथाशीघ्र पाकिस्तान भ्रमणको निमन्त्रणा पनि दोहोर्‍याए। उहाँले निमन्त्रणाका लागि पाकिस्तानका राष्ट्रपतिलाई धन्यवाद दिँदै उपयुक्त समयमा पाकिस्तान भ्रमण गर्ने र पाकिस्तानका राष्ट्रपतिलाई पनि नेपाल भ्रमणको निम्तो दिएको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायत परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्