सिस्नेरी खानेपानी योजना : उपत्यकालाई मेलम्चीपछिको अर्को भरोसा



काठमाडौं।काठमाडौं उपत्यकाआसपासका पानीका मुहान क्रमशः सुक्दै गएपछि खानेपानीका लागि उपत्यकावासी मोफसलमा भर पर्न बाध्य हुने अवस्था आएको छ । अहिले नै पनि सिन्धुपाल्चोकको मेलम्चीबाट दैनिक १७ करोड लिटर खानेपानी नआउने हो भने उपत्यकामा खानेपानीको संकट लाग्ने स्थिति छ । बढ्दो सहरीकरणसँगै वनजंगल विनाश र परम्परागत खानेपानीका मुहान मासिएपछि उपत्यकावासी खानेपानी अभावको चुनौतीसँग लडिरहेका छन् ।

उपत्यकाका तीन जिल्लामा अझै दैनिक २५ करोड लिटर खानेपानी अपुग छ । त्यसका लागि मेलम्चीनजिकैको यांग्री र लार्के खोलाबाट पानी ल्याउने योजना पनि सरकारले अघि बढाइरहेको छ । योसँगै अर्को विकल्पका रूपमा तीन वर्षअघि नै सरकारले मकवानपुरको सिस्नेरी खोलालाई अघि सारेको थियो । करिब १३ किमि पाइपलाइनबाट यो खोलाको पानी उपत्यका ल्याउन सकिने अवस्था छ । तीन महिनाअघिदेखि यसको डिपिआर सुरुसमेत भएको छ । ललितपुरका तीनवटा स्थानीय तहले आफ्नो क्षेत्रको दीर्घकालीन खानेपानी योजनाका रूपमा सिस्नेरी खोलालाई राखेका छन् । यो खोलाको पानी दैनिक १० करोड लिटर ललितपुरमा ल्याउन सकिन्छ । दैनिक १० करोड लिटर पानी भए ललितपुरका तीन पालिकालाई पर्याप्त हुन्छ ।

सिस्नेरीबाट पानी ल्याउनका लागि पहिलो चरणमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार भइरहेको काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बताए । उनका अनुसार खानेपानी आयोजना र फास्ट ट्र्याकको रुट एउटै क्षेत्रमा भएकाले फास्ट ट्र्याकमा असर नपर्ने गरी पाइपलाइन ल्याउनेबारे छलफल भइरहेको छ । उनले भने, ‘अबको १७ महिनाभित्र डिपिआर सकिन्छ, त्यसपछि आयोजनाको काम सुरु हुन्छ, यो पानीले मेलम्ची नपुगेको ललितपुर क्षेत्रलाई कभर गर्छ ।’ उनका अनुसार पहिलो चरणमा ड्याम र वातारणका लागि डिपिआर भइरहेको छ । बाँकी डिपिआर दोस्रो चरणमा हुनेछ । चालू आर्थिक वर्षमा ललितपुर महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी बोर्ड, केयुकेएल, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिकालगायतको संयुक्त टोलीले आयोजना क्षेत्रको निरीक्षण गरेका थिए ।

डिपिआर सकिएपछि खानेपानी ल्याउने योजना अघि बढ्ने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार यो आयोजना खासगरी ललितपुरका तीन पालिकाका लागि हो । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा काम गर्ने हो भने यो योजना समयमै सकिन्छ । आयोजना सम्पन्न गर्नका लागि कम्तीमा २५ अर्ब लागत लाग्ने खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ।(फोटो इन्टरनेट)

प्रतिक्रिया दिनुहोस्