आस्थाका आधारमा नभई दरबन्दी र आवश्यकता हेरेर शिक्षक सरुवा गर्नुपर्छ : गाउँपालिका अध्यक्ष राई
सोलुखुम्बु।नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको २२ औं साधारणसभा सम्पन्न भएको छ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा शनिबार सम्पन्न साधारणसभाले संगठनको भावी योजना तथा रणनीति तय गरेको बताईएको छ।
संगठनका जिल्ला अध्यक्ष टंक दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गर्नुभएको थियो।साधारण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका पूर्ब नेतासमेत रहेका अध्यक्ष राईले आफ्नो पेशागत मर्यादालाई कायम राखेर इमान्दारितापूर्बक दायित्व निर्बाह गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो।
पछिल्लो समय कतिपय स्थानीय तहहरुले आवश्यकता र दरबन्दीका आधारमा नभई राजनीतिक आस्थाका आधारमा सरुवा गर्ने क्रम बढेको भन्दै यस्तो प्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर झन धरासायी बनाउने बताउनुभयो।
दरबन्दी र आवश्यकताका आधारमा विद्यालयहरुमा शिक्षक सरुवा र नियुक्ति स्वभाविक हो तर त्यसतर्फ ध्यान नदिई राजनीतिक आस्थाका आधारमा सरुवा गर्दा कतिपय विद्यालयमा दक्ष बिषयगत शिक्षकको अभाव हुन्छ, त्यो विद्यार्थीको भविष्यमाथिको खेलवाड हो,- वहाँले भन्नुभयो।गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको अधिकार भएको बताउंदै वहाँले जनप्रतिनिधि,शिक्षक र अभिभावकहरुले यसतर्फ संधै सचेत र चनाखो हुनुपर्ने बताउनुभयो।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका पुर्ब अध्यक्ष तथा सल्लाहकार संयोजक प्रभुराम बस्नेत, सल्लाहकारहरु गोबिन्द चौलागाईं, देबि कुमारी राइ,चित्र कार्की, महेन्द्र ठाकुर र पेशागत महासंघका जिल्ला अध्यक्ष कुमार राउत लगायतको उपस्थिति रहेको सो साधारणसभामा जिल्ला अध्यक्ष दाहालले जिल्लामा भएका संगठनका सांगठनिक गतिबिधि, स्थानीय सरकारद्वारा गरिएका सरुवा र पेशागत सवालमा संगठनको धारणा प्रस्तुत गर्नुभएको थियो।
सोही साधारणसभामा नेपाल शिक्षक संघ परित्याग गरि पद्मकन्या आबिका दाम्कुका प्रधानाध्यापक उद्दब लुइँटेल र शिकिका सर्मिला बस्नेत संगठनमा प्रवेश गर्नुभएको थियो।हालै स्थायी सेवामा प्रबेश गर्ने शिक्षकहरुलाइ बधाई तथा सम्मान समेत गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो।


