माप्यदुधकोशीले गर्यो आवधिक योजना तर्जुमा, समृद्धिको आधार पर्यटन र कृषि तय
सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले आवधिक योजना निर्माण सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष तथा आवधिक योजना निर्माण निर्देशक समितिका संयोजक बुद्धिकिरण राईको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले आवधिक योजना निर्माण सम्पन्न गरेको हो।
राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन अनुसारका विभिन्न चरणहरु पार गर्दै तयार गरिएको आवधिक योजनामा ‘पर्यटन र कृषि : समुन्नत र खुसी माप्यदुधकोशी’ भन्ने मूल नारा तय गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो।
पञ्चबर्षीय आवधिक योजना निर्माण गर्दा सम्भावनाका आधारमा पर्यटन र कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
आफुले गाउँपालिकाको नेतृत्व सम्हाले यता स्वरोजगारी र समृद्धिको सम्भावना देखेरै दीर्घकालीन सोचसहित पर्यटन र कृषि क्षेत्रलाई अर्जुनदृष्टि दिएको बताउंदै अध्यक्ष राईले सिमित श्रोतसाधनबाट निर्माण गरिएको त्यसको जगलाई दरिलो बनाएर अघि बढ्न निर्माण सम्पन्न भएको आवधिक योजनाले अझ बल पुर्याउने बिश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष राईले भन्नुभयो,-पर्यटन र कृषिपछि हाम्रो गाउँपालिकाको आर्थिक समृद्धिको अर्को सम्भावना उर्जा क्षेत्रमा छ। यी तीन वटा क्षेत्रको बिकासलाई उचाईमा पुर्याउन सकियो भने आर्थिक समृद्धि र रोजगारीको अन्य श्रोत हामीले खोजी गरिरहनु पर्दैन।’ ‘प्राथमिकता निर्धारण गरिएका क्षेत्रको बिकासका लागि जो संग सहकार्य गरेर हुन्छ सफल बनाउनुपर्छ भन्ने कुरामा म दृढ संकल्पित भएर लागेको छु’,- वहाँले भन्नुभयो।
प्राथमिकीकरण गरिए अनुसार विभिन्न क्षेत्रको योजनाबद्ध विकासबाटमात्र लक्षित उपलब्धि हासिल गर्न सकिने भएका कारण आवधिक योजनाको तर्जुमा गरिएको हो।आवधिक योजनामा निर्धारण गरिएको प्राथमिकताका क्षेत्रसहित अन्य आर्थिक,भौतिक र सामाजिक क्षेत्रको बिकासका लागि झण्डै २ अर्व ३९ करोड बजेट आवश्यक हुने अनुमान गरिएको अध्यक्ष राईले बताउनुभयो।
पालिकाभित्रका सम्पूर्ण वडामा सम्पन्न भेलामा भएका छलफलका आधारमा विभिन्न पांचवटा बिषयगत समितिले दिएको सुझाव र निर्देशक समिति अन्तर्गतको प्राविधिक समितिको बिश्लेषणसहितको प्रस्तुतिकरणपछि विभिन्न सूचकहरुकोविश्लेषण,गाउँपालिकाको वस्तुस्थिति, सवल- दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि आवधिक विकास योजना निर्माण गरिएको निर्देशक समितिका प्राबिधिक बिज्ञ कृष्णचन्द्र अधिकारीले जानकारी दिनुभयो।
पञ्च बर्षीय आवधिक योजना निर्माणका लागि गाउँपालिकाले झण्डै दुई महिना अघिबाट प्रक्रिया सुरु गरेको थियो।

