सगरमाथा आरोहणको ७० बर्षगाँठको अवसरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले बिबिध कार्यक्रम गर्ने



सोलुखुम्बु ।सगरमाथा सफल आरोहणको ७० औं बर्षगाँठका अवसरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले यहि मे २६ देखि २९ तारिकसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर’प्लाटिनम जुब्ली’मनाउने भएको छ ।

सो अवसरमा गाउँपालिकाले जेठ १२ तदनुसार मे २६ मा तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा तेन्जिङ हिलारी पार्कको उद्घाटन गर्ने कार्यक्रम तय गरेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिए।अध्यक्ष शेर्पाका अनुसार जेठ १३ र १४ गते तदनुसार मे २७ र २८ मा खुम्जुङ माध्यमिक विद्यालयमा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापको कार्यक्रम राखिएको छ ।

यस्तै, जेठ १५ तदनुसार मे २९ मा खुम्जुङ माध्यमिक विद्यालयमा “सर एडमण्ड हिलारी भिजिटर्स सेन्टर” र सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा तेन्जिङ नोर्गे शेर्पा संग्रहालय केन्द्र” को उद्घाटन गरिने कार्यक्रम गरिनुका साथै सगरमाथाको सफल आरोहण भएको दिन अर्थात् मे २९ मा नै नाम्चे बजारमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको परिवारलाई सम्मान पत्र वितरण र एभ्रेष्ट म्यूजिकल नाइटका साथमा प्लाटिनम जुब्ली कार्यक्रम समापन गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।

सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक सफल आरोहण गरेका थिए।तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले १९५३ मे २९ मा सगरमाथाको आरोहण गरे पश्चात् ८ हजार भन्दा बढीले सगरमाथाको आरोहण गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्