मलेशियामा मृत्यु भएका ब्यबसायी राईको शब गृह गाउँ नेचासल्यान लगिंदै,अन्त्येष्टी भोलि गरिने
काठमाडौं।मलेसियामा मृत्यु भएका मेनपावर व्यवसायी रिन्जी राईको अन्त्येष्टी भोलि गरिने भएको छ।

२४ चैत २०७९ मा मार्बलस मेनपावर सञ्चालक राईको शव मंगलबार काठमाडौँ ल्याईए लगत्तै गृह गाउँ नेचासल्यान लगिएको छ।मंगलबार राती ढिलो शब गाउँ आईपुग्ने भएका कारण बुधबार अन्त्येष्टिको तयारी गरिएको शिक्षकसमेत रहेका स्थानीय प्रकाश राईले जानकारी दिए।
पोष्टमार्टम रिपोर्ट अनुसार उनले आत्महत्या गरेको देखाएको बताइएपनी परिवारले भने आत्महत्या नभई हत्या भएको आशंका गरेको छ। मृत्यु शङ्कास्पद भन्दै राईको परिवारले प्रधानमन्त्रीलाई घटनाको छानबिनका लागि निवेदन समेत दिएको थियो।
समस्यामा परेका श्रमिकहरूको समस्या समाधान गर्नका लागि केही दिन अगाडि मात्रै उनी मलेसिया पुगेका थिए । त्यही क्रममा श्रमिकहरू नै बसेको होस्टेलको शौचालयमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
केही महिना अगाडि उनको कम्पनीमार्फत ६४ जना नेपाली श्रमिक मलेसिया पुगेका थिए । त्यहाँ कम्पनीले सेवा सुविधा नदिएको भन्दै उनलाई खबर गरेका थिए । त्यसपछि समस्या समाधान गर्न राई आफैँ मलेसिया गएका थिए ।

