गाउँपालिका अध्यक्ष राईलाई एमाले नेचासल्यानको ११ बुँदे ध्यानाकर्षण



सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले प्रचलित कानून, कार्यबिधि र निर्देशिका अनुसार काम गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ।

११ बुंदे सो ध्यानाकर्षणपत्रमा अघिल्लो स्थानीय सरकारले गठन गरेको जग्गा छनौट तथा सिफारिस समितिबाट प्राप्त प्रतिबेदन र मापदण्ड बमोजिम गाउँपालिकाको भवन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने, बिहिबारे बजारभित्र सरकारी लगानीमा निर्मित संरचना नष्ट गरि ब्यक्तिगत लाभका आधारमा संरचना निर्माण गर्ने निर्णय खारेज गरि बजारलाई ब्यबस्थित बजारका रूपमा बिकास गर्न आवश्यक पूर्बाधार निर्माण गर्न र बिना कारण बन्द गरिएको नेचासल्यान अस्पताल तुरुन्त सञ्चालनमा ल्याउन माग गरिएको छ।

गाउँपालिका अध्यक्ष धञ्जन राईलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउंदै संघीयताप्रति नै जनतामा बितृष्णा पैदा हुने गरि बहुमतका आडमा निर्णय नगर्न र गरिएका निर्णय कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएको हो।

गाउँपालिका कमिटी इन्चार्ज धर्मध्वज खत्री र अध्यक्ष जगनाथ बास्तोलाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रचलित कानून,कार्यबिधि र निर्देशिका बिपरित गरिएका निर्णय कार्यान्वयन नगर्न र कार्यान्वयन गरिएका निर्णय तत्काल सच्याउन माग गरिएको छ ।

त्यसैगरी,गाउँपालिका शिक्षा ऐन परिच्छेद-५ विद्यालय ब्यबस्थापन सम्बन्धी गरिएको संशोधन खारेज गरि संघीय शिक्षा ऐन बमोजिम ब्यबस्थापन समिति गठनको ब्यबस्था गर्नुपर्ने, साहस उर्जासंग भएको सहमति,उपलब्धि र समस्या समाधान सम्बन्धि योजनाबारे सरोकारवालाई प्रष्ट पार्नुपर्ने, बिनाकारण गाउँपालिकाको निर्णयबाट रकमान्तर गरिएको रकम गाउँसभाबाट बिनियोजित शिर्षकमा मात्र खर्च गर्नुपर्ने, बिना प्रतिस्पर्धा नियम बिपरीत नियुक्त गरिएका शिक्षक कर्मचारीबारे जानकारी गराउनुपर्ने र सल्यान खानेपानी योजनामा भएको अनियमितताबारे गाउँपालिकाले लिएको पहलकदमी र खानेपानी योजनाको प्रगतिबारे स्पष्ट पार्नुपर्ने लगायत रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए।

ध्यानाकर्षणलाई गम्भीरतापूर्बक लिएर उठाईएका बिषय बस्तुहरुलाई सकारात्मक ढंगले सम्बोधन नगरिए निर्णायक संघर्ष गर्ने चेतावनी समेत उनले दिए।

प्रतिक्रिया दिनुहोस्