उपनिर्बाचनमा सत्ता गठबन्धन आवद्ध दलहरू बिभाजित
काठमाडौं।फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वासको मत दिन एकढिक्का भएका सत्तासाझेदार १० दल उपनिर्बाचनका कारण बिभाजित बन्न पुगेका छन् ।

पाँच दलले वैशाख १० हुने उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवारलाई जिताउन मंगलबार संयुक्त आव्हान गर्दा पांच दलले भने त्यसमा चासो दिएका छैनन्।चासो नदिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ आफ्नै उम्मेदवार उठाए पनि गठबन्धनका उम्मेदवारको पक्षमा नभिएका अन्य दलले भने उम्मेदवार उठाएका छैनन् ।
उता, माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई जिताउन आव्हान गरेका छन् ।
उपनिर्वाचनमा गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव उमेदवार छन् ।

